Wednesday, January 27, 2010

पोस्टरप्रति भारतीय बिरोध


सीमामा अतिक्रमण र राजनीतिमा हस्तक्षेप गरेको भन्दै भारतविरुद्ध आन्दोलन गरिरहेको माओवादीविरुद्ध दसगजामा प्रदर्शन भएको छ । विराटनगरको सीमावर्ती जोगबनीमा मंगलबार भएको प्रदर्शनमा माओवादी अध्यक्ष प्रचण्डको पुत्लासमेत जलाइएको छ 
रामविलास पासवानको नेतृत्वमा रहेको बिहारको क्षेत्रीय लोकजनशक्ति पार्टीका महासविच जाकिर हुसेन खानको नेतृत्वमा जोगबनीको दसगजा क्षेत्रमा नेपाली माओवादीविरुद्ध नाराबाजी भएको थियो । राष्ट्रिय स्वाधीनताको नारा लिएर नेपालमा आन्दोलन गरिरहेको माओवादीले सार्वजनिक गरेको पोस्टरमा जुत्तामा अशोक चिह्न र भारतको राष्ट्रिय झन्डा चित्रित गरिएको भन्दै प्रदर्शन भएको हो 
नेपालका सीमा क्षेत्रमा भारत बुझाउने (झन्डा र अशोकचिह्न अंकित) बुटले कुल्चिएको र रगत झरिरहेको चित्र माओवादीले सीमा क्षेत्रमा सार्वजनिक गरेको छ । बुटमा झन्डा र चिह्न प्रयोग गरेर भारतको अपमान गरेको भन्दै सीमा क्षेत्रमा प्रदर्शन भएको हो 
विराटनगर भन्सारको दसगजा क्षेत्रमा नाराजुलुस गर्दै भारतीयले मंगलबार आवागमनसमेत ठप्प पारेका हुन् । उनीहरूले माओवादीका क्रियाकलाप भारतविरोधी भएको भन्दै तत्काल प्रचण्डले भारतीय नागरिकसँग माफी नमागे संघर्ष गर्ने बताएका छन् 
उनीहरूले भारतविरोधी गतिविधि गर्नेलाई कारबाही नगरेको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई स्मरणपत्रसमेत बुझाएका छन् । 'नेपाल की कम्युनिस्ट पार्टी (माओवादी) द्वारा किया भारतविरुद्ध आचरण से हम भारतवासी आहत हैं,' प्रजिअलाई बुझाइएको स्मरणपत्रमा भनिएको छ, 'विदित है कि भारतमाता के राष्ट्रिय प्रतीक अशोक चिह्न एवं राष्ट्रिय झन्डा का जुते में अंकित कर पोस्टरों के द्वारा खुलेआम नेपाली भूभाग में प्रचारित किया गया है । नेपाल प्रशासनद्वारा ऐसे कुकृत्यों का अबतक विरोध या विरोध में कोई कारबाही नहीं किया ।'
मोरङका प्रमुख जिल्ला अधिकारी शशिशेखर श्रेष्ठले भने स्थानीय स्तरबाट यस समस्याको समाधान गर्न नसकिने बताए । 'हामीले केन्द्रलाई जानकारी दिने हो, यसमा स्थानीय स्तरबाट केही गर्न सकिँदैन,' श्रेष्ठले भने 
प्रदर्शनकारीले मंगलबार सांकेतिक विरोध मात्र भएको भन्दै भारतविरोधी गतिविधि रोक्न तीनसूत्रीय मागसमेत राखेका छन् । जसमा भारतविरोधी गतिविधि बन्द गराउनुपर्ने, माओवादी अध्यक्ष प्रचण्डले भारतीय जनतासँग माफी मागेर यस्ता गतिविधि बन्द गर्ने घोषणा गर्नुपर्ने र भारत-नेपाल मैत्रीविरोधी तत्त्वलाई कारबाही गर्नुपर्ने माग राखेका छन् । 'यो हाम्रो सांकेतिक विरोध मात्र हो, नेपाल सरकारले यसलाई बेवास्ता गरे पूरै नाकाबन्दी गरेर आन्दोलित हुनेछौँ,' बिहारका पूर्वसभासद् खानले भने 
आन्दोलनमा रहेको माओवादीले राष्ट्रिय जागरण तथा भन्डाफोर अभियानअन्तर्गत सीमा क्षेत्रमा भारतीय हस्तक्षेपको विरोधमा विभिन्न पर्चा, पमप्लेट टाँसिरहेको छ । यसैको विरोधमा उत्रिएको भारतीय समूहले 'भारतविरोधी गतिविधि बन्द गर्, प्रचण्ड मुर्दावाद' लेखिएका प्लेकार्डसहित दसगजा क्षेत्रमा नाराजुलुस गरेको हो 
बिहान साढे १० बजेदेखि सुरु भएको प्रदर्शनले मंगलबार विराटनगर भन्सारको कारोबार पनि ठप्प भएको छ । भन्सार कार्यालयका अनुसार नाका अवरुद्ध हुँदा दैनिक संकलन हुने करिब दुई करोड ५० लाख राजस्व असुलीसमेत प्रभावित भएको छ । भन्सार-प्रमुख मित्रलाल रेग्मीले भारतीय नागरिकको अवरोधका कारण जाँचपास हुन नसकेको बताए 
विरोध प्रदर्शनका कारण जोगबनी बजारमा प्रवेश गर्ने नेपालीलाई समस्या परेको थियो भने सबै सवारीसाधनको आवत-जावतसमेत प्रभावित भएको थियो 
यता माओवादीका मोरङ अध्यक्ष शिवकुमार मण्डलले सीमा अतिक्रमणविरुद्ध झन्डाफोर अभियान जारी रहेकाले भारतमा माओवादी र प्रचण्डको विरोध हुनु कुनै अनौठो नभएको बताए । 'उनीहरूको यस्तो विरोधले हामीलाई हतोत्साही गर्दैन, बरु झन् जागरुक गराउँछ,' उनले भने 
पूर्व क्षेत्रका प्रहरी नायब महानिरीक्षक भीष्म प्रसाईंले भारतीय नागरिकले गरेको विरोधका विषयमा प्रहरी आफैँले कूटनीतिक पहल गर्न नसक्ने बताए । 'हाम्रो जिम्मेवारीअनुसार यसको जानकारी केन्द्रमा पठाएका छौँ,' प्रसाईंले भने 
यसअघि सीमा मिचिएका स्थानमा माओवादीले गाडेको पार्टीको झन्डा उखेलेर फालिएको थियो । अतिक्रमित भूमिमा झन्डा गाड्ने माओवादीका १० जना नेता/कार्यकर्तालाई भारतीय सुरक्षाकर्मीले उग्रवादीको सूचीमा राखेको छ । मोरङको सीमावर्ती डाइनिया गाविसमा पार्टीको झन्डा गाडेकाले पार्टीका १० जनालाई भारतीय सुरक्षाकर्मीले उग्रवादीको सूचीमा राखेर खोजी गरिरहेको घटनाप्रति माओवादी मोरङले कडा आपत्ति जनाएको छ 
राष्ट्रिय जागरण तथा भन्डाफोर अभियानअन्तर्गत माओवादीले डाइनियामा अतिक्रमित भूमिमा पार्टीको झन्डा गाडेपछि एसएसबीले स्थानीय सर्वसाधारणलाई धम्क्याउने, तर्साउने र डर देखाउने गरेको एमाओवादीका मोरङ इन्चार्ज मण्डलले बताए 
माओवादीका मोरङ सह-सेक्रेटरी बलिदान, क्षेत्र नम्बर १ का इन्चार्ज कालु, वाइसिएलका क्षेत्रीय अध्यक्ष विनय, उपाध्यक्ष ललित पण्डित, क्षेत्रीय सदस्य अजिम मियाँ, मैनुदिन मियाँ, पार्टीका डाइनिया गाउँ सेक्रेटरी जयप्रकाश, सदस्य तजिर मियाँ, मनीष मण्डल र इम्तिहासको खोजी एसएसबीले गरिरहेको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ 

डाइनिया वडा नम्बर १ र २ को सिक्टी क्षेत्रमा २१ बिघाभन्दा बढी ऐलानी जग्गा भारतीय नागरिक बाजुद्दिन, कपिलुद्दिन र समीर उद्दिनले अतिक्रमण गरेको माओवादीको दाबी छ 

Sunday, January 17, 2010

प्रचण्ड र प्रधानमन्त्री नेपालबीचको आरोप प्रत्यारोप

 ०६६ साल पुस २५ गते राष्ट्रियसभाको एक कार्यक्रममा आफ्ना सहकर्मी बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठसमेतलाई साक्षी बनाएर दासढुंगा हत्याको सम्बन्धमा माओवादीका अध्यक्ष प्रचण्डले खुलासा गर्नुभयो, 'त्यसवेला माधव नेपालसँग छलफल हुँदा अमेरिका तथा भारतलाई पनि नटेर्ने, जथाभावी जोसुकैलाई गाली गर्दै हिँड्ने भएपछि त्यस्ता मान्छे मारिने नै भए ।' उहाँले माधव नेपालको अभिव्यक्तिबारे खुलासा गरेको दुई दिनपछि प्रधानमन्त्री नेपालको पे्रस सल्लाहकारका तर्फबाट त्यो अभिव्यक्तिलाई चरित्रहत्याको संज्ञा दिँदै खण्डन गर्ने प्रयास गरियो । त्यो घटनाले नेपाली बजारमा फेरि एउटा तातो बहसको सिर्जना गरेको छ । नेपालको कम्युनिस्ट आन्दोलन र त्यसमा पनि एमालेको २३ वर्षको इतिहासलाई समेटेर विद्यावारिधि गर्दाका केही तथ्यले माधव नेपालको कार्यालयबाट आएको खण्डनले पूरक जवाफ दिन नसकेको ठानेको छु । त्यसैले पूरक जवाफ खोज्न केही प्रश्न-उत्तर अनिवार्य भएको छ । अतः सम्माननीय प्रधानमन्त्री माधवकुमार नेपालसमक्ष केही प्रश्न राख्ने धृष्टता गरेको छु । तिनको समुचित र तथ्यसंगत जवाफ नआएसम्म हामीजस्ता शोधार्थीले प्रचण्डको आक्षेपलाई चरित्रहत्या मात्र भनेर बुझ्न नसकिने ठानिन्छ ।


प्रचण्डले आरोप लगाउनुभएजस्तै कुरा एमालेका अहिलेका केन्द्रीय सदस्य तथा तत्कालीन अनेरास्ववियुका अध्यक्ष योगेश भट्टराईले लेखेका थिए- '०५० जेठ ३ गते दासढुंगामा तत्कालीन महासचिव क. मदन र क. जीवराज आश्रतिको षड्यन्त्रमूलक हत्या भयो । सिंगो एमाले-पंक्ति शोकाकुल थियो र शोकलाई शक्तिमा बदलेर हत्याको बदला लिने अठोट गरिरहेको थियो । गिरिजा सरकारले बनाएको अनील आयोगले नियोजित रिपोर्ट दिएर दासढुंगा हत्याकाण्डलाई ढाकछोप गर्ने षड्यन्त्र भएपछि एमालेभित्र विद्रोहको ज्वाला उठ्यो । सिंगो मुलुकले आन्दोलनको उद्घोष गर्‍यो । त्यसवेला हामी अनेरास्ववियुको नेतृत्वमा रहेका साथीहरू दासढुंगा हत्याकाण्डका विरुद्ध पार्टीले आन्दोलनको घोषणा गर्नुपर्ने माग लिएर पार्टी महासचिवकहाँ पुग्यौँ । त्यसवेला उहाँले त्यस्तो घटनालाई राजनीतीकरण गर्न नहुने, त्यस्तो केसमा पार्टीले आन्दोलन गरे पार्टीको राष्ट्रिय/अन्तर्राष्ट्रिय छवि बिग्रने तर्क गर्नुभयो ।... अनेरास्ववियुको दबाबका कारण पार्टीले आन्दोलनको घोषणा गर्‍यो र क. वामदेव गौतमलाई उक्त आन्दोलनको कमान्डर बनाइयो । आन्दोलनले अभूतपूर्व रूप ग्रहण गर्‍यो । तर, उक्त कुरा पार्टी महासचिवलगायत केहीलाई ठीक लागेको थिएन । त्यसैले आन्दोलन उत्कर्षको स्थितिमा रहेका वेला भदौ १ गते सरकारसँग सम्झौता गरेर आन्दोलनलाई जबर्जस्ती निस्तेज पार्ने काम महासचिवको अगुवाइमा भयो । त्यसपछिका दिनमा मदन भण्डारीको नेतृत्वको क्षमताको प्रशंसा गर्दा वर्तमान महासचिवलाई १०४ डिग्री ज्वरो आउँथ्यो ।
...हामी केही विद्यार्थी नेतरूलाई सिंहदरबारको उपप्रधानमन्त्रीको  कार्यालयमा बोलाएर अब हामी यही सरकारमार्फत संक्रमण गर्दै जबजमा जान्छौँ, यही अवस्थालाई जबजमा परिणत गर्नुपर्छ र एमालेले गणतन्त्रको अडान छाड्नुपर्छ, -शौर्य साप्ताहिक, ०५४ पुस १४, महासचिव कमरेड फेरि पनि मैले लेख्न नपरोस्) ।
यो पनि के तपाईंमाथि लगाएको झुटो आरोप नै हो त ? यो आरोपको त तपाईंले कहिल्यै खण्डन गर्नुभएन । तपाईंका कुनै पे्रस सल्लाहकारले विज्ञप्ति पनि निकालेनन् । यो आरोप र प्रचण्डले बोलेका कुरा एउटै आशयका होइनन् र ?
दासढुंगा हत्याकाण्ड भएको भोलिपल्ट जुलिया चाङ ल्बक, जे हेनरी तथा हरविन्दरहरूसमेत भएर बालुवाटारमा भेला भएर एमाले नेतृत्वलाई विद्रोहमा जानबाट रोक्ने उपायको खोजी गर्दै त्यसका लागि दबाब दिने योजना बनाएका थिए भनेर कांग्रेसी क्याम्पबाट त्यसैवेला कुरा बाहिर नआएको होइन । त्यही खोजीको उपज योगेश भट्टराईले भनेजस्तो तपाईले राष्ट्रिय/अन्तर्राष्ट्रिय छवि बिग्रने कुरा गर्नुभएर आन्दोलन तुहाउने र हत्याको प्रमाण मेटाउने भूमिका त खेल्नुभएको होइन ? होइन भने आन्दोलन उत्कर्षमा पुगेका वेला अन्य सहयोगी-मित्रलाई छाडेर तपाईं एक्लैले आन्दोलन तुहाउने सम्झौता गर्न अग्रसर हुनुको रहस्य के थियो त ?
रिचार्ड फोडको 'इन्भेस्टिगेसन इन क्रिमिनल केस'मा अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताका बारेमा व्याख्या गरिएको छ । त्यस व्याख्याअनुसार कुनै पनि आपराधिक घटनाको पुनःअनुसन्धान नहोस् भन्नाका लागि अपराधीले त्यस्ता घटनासँग सम्बन्धित संरचना तथा भौतिक सामग्रीको आकार-प्रकार तथा पूर्ववत् अवस्थालाई नष्ट गर्ने गर्दछ, त्यसो गरिए वास्तविक तथ्य बाहिर आउँदैन । यही तथ्यलाई ध्यान दिएर ज्ञानेन्द्रले दरबार हत्याकाण्ड भएको त्रिभुवन सदनलाई भत्काएर चउरमा परिणत गराए । त्यस्तै, तपाईंले पनि दासढुंगा दुर्घटना भएको स्थानलाई भत्काएर पार्क तथा सिँढी बनाउने काम गर्नुभयो । त्यसैगरी, पहिले संग्रहालयमा राख्ने भनिएको मदन भण्डारी चढेको पजेरो पनि मर्मत गरेर चढ्ने योजना बनाइयो, पछि बन्दना भुषाल नामकी विद्यार्थीले आमरण अनसन बसेपछि त्यसलाई त रोकियो, तर त्यसको दुर्घटना हुँदाको अवस्थामा भने परिवर्तन आयो । यी काम हत्या पत्ता नलागोस् भनेर प्रमाण मेटाउने प्रयत्न त होइनन् ? यस्ता प्रमाण मेटाउन तपाइर्ंको अग्रसरता किन ?
दुर्घटनाका प्रत्यक्षदर्शी भनिएका मोरङ जिल्ला लेटाङका सुन्दर लामाकी आमा गंगामाया लामा ०५६ वैशाख १२ का दिनसम्म तपाइर्ं उपप्रधानमन्त्री तथा शक्तिशाली नेता भएको समयमा तत्कालीन गृहमन्त्री केपी ओलीसँग भेट गर्न लगिएको उनको छोरो सुन्दर लामा बेपत्ता भएको भनिरहेकी थिइन् । प्रत्यक्षदर्शी भनेर भेट गर्न लगिएको व्यक्तिलाई तत्काल जनतामाझ ल्याउनुको साटो लुकाउने वा बेपत्ता पार्ने काम गर्नुको कारण के थियो ? यो प्रमाण नष्ट गर्ने शैली होइन र ?
राजा वीरेन्द्रले अनुसरण गरेकै नीति आफूले पनि अनुसरण गर्ने कुरा ज्ञानेन्द्रले बारम्बार दोहोर्‍याउने गर्थे । तर, ज्ञानेन्द्रका हरेक कदम वीरेन्द्रको भन्दा उल्टोबाटोतर्फ निर्देशित भयो । जनताको हत्याका लागि सेना नचलाउने वीरेन्द्रको अडानविपरीत ज्ञानेन्द्र शासनमा संकटकाल लागू भयो । त्यस्तै मदन भण्डारी विदेशीसँग नझुक्ने र आफ्नो पार्टीलाई विदेशीको सल्लाहबमोजिम 'भाइ-कांग्रेस' बनाउने कुराको सधैँ विरोधमा थिए । उनको हत्यापछि तपाईं पनि मदनले अघिसारेको जनताको बहुदलीय जनवादको कलेवरमा भण्डारीकै विचार र अडानविरुद्ध विदेशीसामु लम्पसार पर्दै आफ्नो १५ वर्षको नेतृत्वकालमा 'भाइ-कांग्रेस' भएर पार्टी चलाउनुभयो । पार्टीको स्वतन्त्र पहिचान तपाईंको नेतृत्वकालमै नष्ट भयो । तपाईंकै नेतृत्वकालमा 'कांग्रेस राजी नभई केही गर्न सकिँदैन' भनेर पटकपटक बोलिएका कुरा इतिहासमा अंकित छन् र अहिले पनि तपाइर्ं कांग्रेसकै डोरी पक्रेर पिङ खेल्दै हुनुहुन्छ । यो मदन भण्डारीको नीतिको अनुसरण हो कि विरोध ?
पत्रकार किशोर श्रेष्ठले लेखेका छन्- 'दासढुंगा हत्याकाण्डको केही दिनअघि मात्र क. मदन भण्डारीको सुरक्षा-व्यवस्था गर्ने प्रस्तावको किन विरोध
गरियो ? दक्षिण अपि|mकी कम्युनिस्ट पार्टीका महासचिव क्रिस हनीको हत्या भएपछि त्यो केटाले तत्कालीन उत्तरकोरियाली राजदूत आन सुई जोङसँग रूपनारायण श्रेष्ठलगायत तीनजना एमाले कार्यकर्तालाई मदनको सुरक्षार्थ कमान्डो तालिम लिन प्योङयाङ पठाउने कुरामा सहमत गराएर क. मदनको नक्सालस्थित निवासमा उहाँ र राजदूतबीच यो समझदारीलाई अन्तिम रूप दिलाउने काम पनि भएको थियो, तर त्यो योजनालाई पार्टीकै केही नेताबाट कार्यान्वयन हुन दिइएन ।' -प्रतिपक्ष साप्ताहिक, ०५४ पुस ११, त्यो केटोको वकपत्र) यो भनाइले मदनलाई मार्ने षड्यन्त्र पार्टीभित्रैबाट थियो भन्ने बुझाउँदैन र ? यस्तो थियो भने त्यसपछि पार्टी नेता भएका तपाइर्ं अपराधी खोज्ने कार्यमा मौन रहनुको तात्पर्य के हो त ?
तपाईंले यी प्रश्नको तथ्यगत आधारसहित चित्तबुझ्दो जवाफ दिन सक्नुभयो भने हामीजस्ता शोधार्थी प्रचण्डको भनाइलाई पागलपनको उपज ठानौँला । अन्यथा, वीरेन्द्रको वंशनास हुनेगरी भएको हत्याकाण्डबारे उनका उत्तराधिकारी भएका ज्ञानेन्द्रप्रति आमजनताले ठानेको, तपाईंले पनि एकपटक रत्नपार्कको आमसभामा भनेको 'भाइमारा, मूर्तिचोर'जस्ता आरोप आमजनताले मदनका उत्तराधिकारी तपाइर्ंमाथि पनि लगाउन सक्छन् ।

Wednesday, January 6, 2010

बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतको दबाब


कहिले कसलाई कहिले कसलाई तारो बनाइराख्‍ने प्रचण्डले यसपालि आफ्नै पार्टीका उपाध्यक्ष बाबुराम भट्टराईलाई प्रहार गरेका छन्। पार्टी कार्यकर्ताहरुलाई दिएको आन्तरिक प्रशिक्षणका क्रममा उनले भनेछन्- बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन भारतले दबाब दिइरहेको छ। उनको यो भनाईको अडियो सार्वजनिक भएपछि देशै तरंगित भएको छ। यसबाट प्रचण्डलाई फाइदैफाइदा भएको छ। यो समाचारलाई छाप्ने सञ्चारमाध्यमलाई पनि फाइदै भएको छ। बलिका बोका बनाइएका छन् बिचरा बाबुराम। गर्नु गर्‍यो बाबुरामलाई यो अडियोले। यो अडियोले प्रचण्डको धूर्तपना, बठ्याइँमात्र देखाएको छैन, पार्टीमा आफूमाथि ‘थ्रेट’ हुनसक्ने कसैलाई पनि चरित्र हत्या गरेर उठ्न नसक्ने बनाउने र एकछत्र राज आफूमात्रै गर्ने सोच छर्लङ्गै पारेको छ। उनको त्यो सोच राजामहाराजाले पनि नगर्ने आफ्नै रंगीन फोटो झुण्ड्याइएको पार्टी मुख्यालयको भित्ता अगाडि बसेर पत्रकार सम्मेलन गर्दै गरेका दृश्यले पनि स्पष्ट पार्छ। सम्मेलनमा उनले भने, सरकारमा जाने भए मेरै नेतृत्वमा जाने पार्टीले निर्णय गरेको छ।
राष्ट्रवादी नेता देखाउने धोको
सत्ता अनपेक्षित रुपमा छाड्नु परेपछि प्रचण्ड अहिले निकै हतास छन्। राजीनामा दिएर निस्केपछि अहिलेसम्म उनी बालुवाटार छिरेका छैनन्। प्रधानमन्त्री माधवकुमार नेपालसँग बरु उनको निजी निवास कोटेश्वरमा गएर वार्ता गर्छन्, तर बालुवाटार जानुपर्दा उनलाई औडाहा हुन्छ। एमाले, कांग्रेससँग जति वार्ता गरे पनि निकास निस्कन नसकेपछि अहिले उनी भारतविरुद्ध बोल्दा फाइदा हुन्छ भन्ने निश्कर्षमा पुगेका छन्। र त आफूलाई राष्ट्रवादी नेता देखाउन कहिले उनी कालापानी जाने प्रचार गराउँछन् त कहिले आफूलाई थ्रेट हुनसक्ने नेतालाई भारतीय पक्षको भनेर बताउँछन्। यो क्रममा उनी निकै हल्का साबित भएका छन्।
राष्ट्रवादी नेताको छवि बनाउन उनले जसरी आफू कालापानी जाने प्रचार गराए, त्यो वास्तवमा संभव कुरा नै थिएन। किनभने यो जाडोको मौसममा कालापानीभन्दा मुनिका बस्तीहरुबाट त बासिन्दाहरु भारी हिमपातका कारण बेसी झर्ने बेलामा कालापनी पुगेर सभा गर्नु असंभव प्रायः नै थियो। कालापानी उच्च हिमाली क्षेत्रमा रहेको रणनैतिक महत्त्वको क्षेत्र हो। त्यहाँ गइहाले पनि वैशाख जेठ उतामात्र सकिन्थ्यो। तर प्रचार भयो अध्यक्ष कमरेड कालापानी जाँदैछन्। केन्द्रीय समितिको बैठकले गरेको निर्णयमा भने प्रचण्ड कालापानी हैन, महाकाली जाने भनियो। महाकाली अञ्चलको महेन्द्रनगरमा सभा गर्ने सोच पनि हुनसक्छ।


किन महसूस गरे ‘थ्रेट’ बाबुरामबाट
जानकार सूत्रका अनुसार प्रचण्ड चीन भ्रमणमा जाँदा चिनियाँ राजदूतले उनकै अगाडि बाबुराम भट्टराईलाई ‘अबको प्रधानमन्त्री तपाईँ नै हो’ भनेर भनिदिएछन्। यसले प्रचण्डको मनमा च्वास्स बिझ्यो। यता भारतले बाबुरामको नाम लिइरहने, उता चीनले पनि उनैको नाम लिने। आफू बाहेक कसैलाई नेतृत्वमा आउन नदिने सोच रहेका प्रचण्डलाई यसले बिझाउने नै भयो। राजीनामा दिएपछि अब सरकारको नेतृत्व म गर्दिनँ भनेर भनेका थिए। तर सार्वजनिक भएको अडियोमा उनले ‘मैले त्यसरी कहाँ भनेको हो र, मैले त्यसरी छाड्छु भनेकै हैन’ जस्ता कुरा गरेका छन्।
यसबाहेक बाबुरामसँग उनको इगो प्रोब्लम पनि रहेको छ। २०२६ सालमा प्रचण्ड र बाबुरामले सँगै एसएलसी दिएका थिए। बाबुराम भए बोर्ड फर्स्ट, प्रचण्ड सेकेन्ड डिभिजनमा पास। वैचारिक मामिलामा उनी आफूलाई बाबुरामबाट थ्रेट महसूस गर्छन्। भट्टराई निकट स्रोतका अनुसार बाबुरामले पटकपटक प्रचण्डलाई राजनीतिमा पढाइको स्तरको कुनै गणना हुँदैन, नेतृत्व क्षमता महत्त्वपूर्ण हो, त्यो तपाईँमा छ भनेर सम्झाउने कोशिश गरेका थिए।
अर्को कुटनीतिक रुपमा बाबुराम भट्टराईको सम्बन्धमा प्रचण्डको भन्दा राम्रो रहेको छ। यसबाट पनि उनी झस्कन बाध्य छन्।
अझ महत्त्वपूर्ण कुरा प्रचण्ड नेतृत्वको सरकारमा सबैभन्दा स्वच्छ छविको र सबैभन्दा सफल बाबुराम भट्टराई र उनले सम्हालेको अर्थ मन्त्रालय नै भएको थियो। अभिलेखले देखाउँछ, भट्टराईको पालामा कीर्तिमानी राजस्व संकलन भएको थियो। भन्सारमा गैरकानुनी दस्तुरी प्रथा पूरै रोकिएका थिए। विदेश भ्रमणमा गएर नभएको बिल पेश गर्ने प्रचलनविपरीत उनले भ्रमणबाट फर्किएर बाँकी रहेको भत्ता रकम राज्यकोषमा फर्काएका थिए।
चुनावका बेला नानाथरीका आश्वासन बाँड्ने र चुनावपछि जनतालाई चटक्कै बिर्सने नेताहरुलाई पनि उनी टाउको दुखाइ बनेका थिए। किनभने संविधान सभाको चुनाव ताका गोरखाका मतदातालाई उनले जे भने, त्यो पूरा गर्न उनी हरेक महिना जिल्ला पुग्ने गरेका छन्। त्यहाँ आफ्ना मतदातासित अन्तर्क्रिया गर्छन्।
के फाइदा हुन्छ प्रचण्डलाई ?
प्रचण्ड र बाबुरामको विवाद अहिले हैन, जनयुद्धकालदेखि कै हो। चुनवाङ बैठकअघि दुई बीच यति तिक्तता बढेको थियो कि भट्टराईलाई ‘जनसेना’ले बन्दी बनाएर राखेका थिए। तर पार्टी एकताका लागि भन्दै पछि भट्टराई र प्रचण्ड मिले। त्यतिबेलादेखि बाबुराम भट्टराईले नेतृत्व क्षमता प्रचण्डमा रहेको भन्दै प्रचण्डको नेतृत्व स्वीकारेका थिए। साथमा वैचारिक मार्गनिर्देशन प्रचण्डले भट्टराईबाट लिने सहमति भएको थियो। तर विकसित घटनाक्रमले प्रचण्डलाई विभिन्न किसिमबाट बाबुरामबाट आफ्नो महत्त्वाकांक्षामा खतरा देखिन थाल्यो। सर्वसाधारणलाई थाहा हुने गरी मात्रै आज यो कुरा बाहिर आएको हो, तर भित्री रुपमा माओवादीलाई बुझेकाहरु सबैलाई थाहा थियो, केही अघिदेखि बाबुरामविरुद्ध पार्टीभित्रैबाट प्रचार हुँदै आएको छ।
पार्टी भारतविरोधी आन्दोलनमा लागिरहेको बेला पार्टीभित्रैका नेता भारतबाट सञ्चालित भनी देखाउन पाए सर्वसाधारणमा उनको इमेज नराम्रोसँग खस्कनेछ र त्यसबाट हुने फाइदा प्रचण्डलाई नै हो।
के गर्लान् त बाबुरामले ?
बाबुराम भट्टराई पार्टीलाई कमजोर हुने गरी वादप्रतिवाद गर्ने मूडमा छैनन्। उनले पार्टीको केन्द्रीय कमिटीको बैठकमा आफूले सँधै त्याग गरिआएको र नेतृत्वको दावी कहिल्यै नगरेको बताएछन्। मबाट असुरक्षित महसूस हुन जरुरी छैन भन्दै प्रचण्डसँग चर्काचर्की बहस भएछ। पार्टी सरकारमा जाँदा वामदेव गौतमलाई उपप्रधानमन्त्री चाहिन्छ भने अनि मैले पार्टीको निर्णय हुँदाहुँदै पनि उपप्रधानमन्त्री पद छाडेँ, पार्टी एकीकृत भयो अनि संसदीय दलका उपनेतामा प्रकाशलाई छाडिदिएँ, बहुपदीय प्रणालीमा पार्टी जाँदा पनि वरियता क्रम मोहन वैद्यलाई छाडिदिएँ। मैले कहिल्यै पद खोजेकै छैन, मदेखि असुरक्षित हुन किन जरुरी भयो ?
मंगलबार बीबीसी नेपाली सेवासितको अन्तर्वार्तामा भट्टराईले बडो कुटनीतिक भाषामा हाम्रा अध्यक्ष कमरेडलाई दोष दिन चाहन्नँ भन्दाभन्दै पनि यो राजनीतिक संस्कारको अभावका कारण भएको भनी कडा टिप्पणी गरे। उनले भने, यो मेरो चरित्र हत्या गर्ने प्रयास हो।