०६६ साल पुस २५ गते राष्ट्रियसभाको एक
कार्यक्रममा आफ्ना सहकर्मी बाबुराम भट्टराई तथा नारायणकाजी श्रेष्ठसमेतलाई
साक्षी बनाएर दासढुंगा हत्याको सम्बन्धमा माओवादीका अध्यक्ष प्रचण्डले
खुलासा गर्नुभयो, 'त्यसवेला माधव नेपालसँग छलफल हुँदा अमेरिका तथा भारतलाई
पनि नटेर्ने, जथाभावी जोसुकैलाई गाली गर्दै हिँड्ने भएपछि त्यस्ता मान्छे
मारिने नै भए ।' उहाँले माधव नेपालको अभिव्यक्तिबारे खुलासा गरेको दुई
दिनपछि प्रधानमन्त्री नेपालको पे्रस सल्लाहकारका तर्फबाट त्यो
अभिव्यक्तिलाई चरित्रहत्याको संज्ञा दिँदै खण्डन गर्ने प्रयास गरियो ।
त्यो घटनाले नेपाली बजारमा फेरि एउटा तातो बहसको सिर्जना गरेको छ ।
नेपालको कम्युनिस्ट आन्दोलन र त्यसमा पनि एमालेको २३ वर्षको इतिहासलाई
समेटेर विद्यावारिधि गर्दाका केही तथ्यले माधव नेपालको कार्यालयबाट आएको
खण्डनले पूरक जवाफ दिन नसकेको ठानेको छु । त्यसैले पूरक जवाफ खोज्न केही
प्रश्न-उत्तर अनिवार्य भएको छ । अतः सम्माननीय प्रधानमन्त्री माधवकुमार
नेपालसमक्ष केही प्रश्न राख्ने धृष्टता गरेको छु । तिनको समुचित र
तथ्यसंगत जवाफ नआएसम्म हामीजस्ता शोधार्थीले प्रचण्डको आक्षेपलाई
चरित्रहत्या मात्र भनेर बुझ्न नसकिने ठानिन्छ ।
प्रचण्डले आरोप
लगाउनुभएजस्तै कुरा एमालेका अहिलेका केन्द्रीय सदस्य तथा तत्कालीन
अनेरास्ववियुका अध्यक्ष योगेश भट्टराईले लेखेका थिए- '०५० जेठ ३ गते
दासढुंगामा तत्कालीन महासचिव क. मदन र क. जीवराज आश्रतिको षड्यन्त्रमूलक
हत्या भयो । सिंगो एमाले-पंक्ति शोकाकुल थियो र शोकलाई शक्तिमा बदलेर
हत्याको बदला लिने अठोट गरिरहेको थियो । गिरिजा सरकारले बनाएको अनील
आयोगले नियोजित रिपोर्ट दिएर दासढुंगा हत्याकाण्डलाई ढाकछोप गर्ने
षड्यन्त्र भएपछि एमालेभित्र विद्रोहको ज्वाला उठ्यो । सिंगो मुलुकले
आन्दोलनको उद्घोष गर्यो । त्यसवेला हामी अनेरास्ववियुको नेतृत्वमा रहेका
साथीहरू दासढुंगा हत्याकाण्डका विरुद्ध पार्टीले आन्दोलनको घोषणा
गर्नुपर्ने माग लिएर पार्टी महासचिवकहाँ पुग्यौँ । त्यसवेला उहाँले
त्यस्तो घटनालाई राजनीतीकरण गर्न नहुने, त्यस्तो केसमा पार्टीले आन्दोलन
गरे पार्टीको राष्ट्रिय/अन्तर्राष्ट्रिय छवि बिग्रने तर्क गर्नुभयो ।...
अनेरास्ववियुको दबाबका कारण पार्टीले आन्दोलनको घोषणा गर्यो र क. वामदेव
गौतमलाई उक्त आन्दोलनको कमान्डर बनाइयो । आन्दोलनले अभूतपूर्व रूप ग्रहण
गर्यो । तर, उक्त कुरा पार्टी महासचिवलगायत केहीलाई ठीक लागेको थिएन ।
त्यसैले आन्दोलन उत्कर्षको स्थितिमा रहेका वेला भदौ १ गते सरकारसँग
सम्झौता गरेर आन्दोलनलाई जबर्जस्ती निस्तेज पार्ने काम महासचिवको अगुवाइमा
भयो । त्यसपछिका दिनमा मदन भण्डारीको नेतृत्वको क्षमताको प्रशंसा गर्दा
वर्तमान महासचिवलाई १०४ डिग्री ज्वरो आउँथ्यो ।
...हामी केही
विद्यार्थी नेतरूलाई सिंहदरबारको उपप्रधानमन्त्रीको कार्यालयमा बोलाएर अब
हामी यही सरकारमार्फत संक्रमण गर्दै जबजमा जान्छौँ, यही अवस्थालाई जबजमा
परिणत गर्नुपर्छ र एमालेले गणतन्त्रको अडान छाड्नुपर्छ, -शौर्य साप्ताहिक,
०५४ पुस १४, महासचिव कमरेड फेरि पनि मैले लेख्न नपरोस्) ।
यो पनि के
तपाईंमाथि लगाएको झुटो आरोप नै हो त ? यो आरोपको त तपाईंले कहिल्यै खण्डन
गर्नुभएन । तपाईंका कुनै पे्रस सल्लाहकारले विज्ञप्ति पनि निकालेनन् । यो
आरोप र प्रचण्डले बोलेका कुरा एउटै आशयका होइनन् र ?
दासढुंगा
हत्याकाण्ड भएको भोलिपल्ट जुलिया चाङ ल्बक, जे हेनरी तथा हरविन्दरहरूसमेत
भएर बालुवाटारमा भेला भएर एमाले नेतृत्वलाई विद्रोहमा जानबाट रोक्ने
उपायको खोजी गर्दै त्यसका लागि दबाब दिने योजना बनाएका थिए भनेर कांग्रेसी
क्याम्पबाट त्यसैवेला कुरा बाहिर नआएको होइन । त्यही खोजीको उपज योगेश
भट्टराईले भनेजस्तो तपाईले राष्ट्रिय/अन्तर्राष्ट्रिय छवि बिग्रने कुरा
गर्नुभएर आन्दोलन तुहाउने र हत्याको प्रमाण मेटाउने भूमिका त खेल्नुभएको
होइन ? होइन भने आन्दोलन उत्कर्षमा पुगेका वेला अन्य सहयोगी-मित्रलाई
छाडेर तपाईं एक्लैले आन्दोलन तुहाउने सम्झौता गर्न अग्रसर हुनुको रहस्य के
थियो त ?
रिचार्ड फोडको 'इन्भेस्टिगेसन इन क्रिमिनल केस'मा
अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय मान्यताका बारेमा व्याख्या गरिएको छ ।
त्यस व्याख्याअनुसार कुनै पनि आपराधिक घटनाको पुनःअनुसन्धान नहोस् भन्नाका
लागि अपराधीले त्यस्ता घटनासँग सम्बन्धित संरचना तथा भौतिक सामग्रीको
आकार-प्रकार तथा पूर्ववत् अवस्थालाई नष्ट गर्ने गर्दछ, त्यसो गरिए
वास्तविक तथ्य बाहिर आउँदैन । यही तथ्यलाई ध्यान दिएर ज्ञानेन्द्रले दरबार
हत्याकाण्ड भएको त्रिभुवन सदनलाई भत्काएर चउरमा परिणत गराए । त्यस्तै,
तपाईंले पनि दासढुंगा दुर्घटना भएको स्थानलाई भत्काएर पार्क तथा सिँढी
बनाउने काम गर्नुभयो । त्यसैगरी, पहिले संग्रहालयमा राख्ने भनिएको मदन
भण्डारी चढेको पजेरो पनि मर्मत गरेर चढ्ने योजना बनाइयो, पछि बन्दना भुषाल
नामकी विद्यार्थीले आमरण अनसन बसेपछि त्यसलाई त रोकियो, तर त्यसको
दुर्घटना हुँदाको अवस्थामा भने परिवर्तन आयो । यी काम हत्या पत्ता नलागोस्
भनेर प्रमाण मेटाउने प्रयत्न त होइनन् ? यस्ता प्रमाण मेटाउन तपाइर्ंको
अग्रसरता किन ?
दुर्घटनाका प्रत्यक्षदर्शी भनिएका मोरङ जिल्ला लेटाङका
सुन्दर लामाकी आमा गंगामाया लामा ०५६ वैशाख १२ का दिनसम्म तपाइर्ं
उपप्रधानमन्त्री तथा शक्तिशाली नेता भएको समयमा तत्कालीन गृहमन्त्री केपी
ओलीसँग भेट गर्न लगिएको उनको छोरो सुन्दर लामा बेपत्ता भएको भनिरहेकी
थिइन् । प्रत्यक्षदर्शी भनेर भेट गर्न लगिएको व्यक्तिलाई तत्काल जनतामाझ
ल्याउनुको साटो लुकाउने वा बेपत्ता पार्ने काम गर्नुको कारण के थियो ? यो
प्रमाण नष्ट गर्ने शैली होइन र ?
राजा वीरेन्द्रले अनुसरण गरेकै नीति
आफूले पनि अनुसरण गर्ने कुरा ज्ञानेन्द्रले बारम्बार दोहोर्याउने गर्थे ।
तर, ज्ञानेन्द्रका हरेक कदम वीरेन्द्रको भन्दा उल्टोबाटोतर्फ निर्देशित
भयो । जनताको हत्याका लागि सेना नचलाउने वीरेन्द्रको अडानविपरीत
ज्ञानेन्द्र शासनमा संकटकाल लागू भयो । त्यस्तै मदन भण्डारी विदेशीसँग
नझुक्ने र आफ्नो पार्टीलाई विदेशीको सल्लाहबमोजिम 'भाइ-कांग्रेस' बनाउने
कुराको सधैँ विरोधमा थिए । उनको हत्यापछि तपाईं पनि मदनले अघिसारेको
जनताको बहुदलीय जनवादको कलेवरमा भण्डारीकै विचार र अडानविरुद्ध विदेशीसामु
लम्पसार पर्दै आफ्नो १५ वर्षको नेतृत्वकालमा 'भाइ-कांग्रेस' भएर पार्टी
चलाउनुभयो । पार्टीको स्वतन्त्र पहिचान तपाईंको नेतृत्वकालमै नष्ट भयो ।
तपाईंकै नेतृत्वकालमा 'कांग्रेस राजी नभई केही गर्न सकिँदैन' भनेर पटकपटक
बोलिएका कुरा इतिहासमा अंकित छन् र अहिले पनि तपाइर्ं कांग्रेसकै डोरी
पक्रेर पिङ खेल्दै हुनुहुन्छ । यो मदन भण्डारीको नीतिको अनुसरण हो कि
विरोध ?
पत्रकार किशोर श्रेष्ठले लेखेका छन्- 'दासढुंगा हत्याकाण्डको
केही दिनअघि मात्र क. मदन भण्डारीको सुरक्षा-व्यवस्था गर्ने प्रस्तावको
किन विरोध
गरियो ? दक्षिण अपि|mकी कम्युनिस्ट पार्टीका महासचिव क्रिस
हनीको हत्या भएपछि त्यो केटाले तत्कालीन उत्तरकोरियाली राजदूत आन सुई
जोङसँग रूपनारायण श्रेष्ठलगायत तीनजना एमाले कार्यकर्तालाई मदनको
सुरक्षार्थ कमान्डो तालिम लिन प्योङयाङ पठाउने कुरामा सहमत गराएर क. मदनको
नक्सालस्थित निवासमा उहाँ र राजदूतबीच यो समझदारीलाई अन्तिम रूप दिलाउने
काम पनि भएको थियो, तर त्यो योजनालाई पार्टीकै केही नेताबाट कार्यान्वयन
हुन दिइएन ।' -प्रतिपक्ष साप्ताहिक, ०५४ पुस ११, त्यो केटोको वकपत्र) यो
भनाइले मदनलाई मार्ने षड्यन्त्र पार्टीभित्रैबाट थियो भन्ने बुझाउँदैन र ?
यस्तो थियो भने त्यसपछि पार्टी नेता भएका तपाइर्ं अपराधी खोज्ने कार्यमा
मौन रहनुको तात्पर्य के हो त ?
तपाईंले यी प्रश्नको तथ्यगत आधारसहित
चित्तबुझ्दो जवाफ दिन सक्नुभयो भने हामीजस्ता शोधार्थी प्रचण्डको भनाइलाई
पागलपनको उपज ठानौँला । अन्यथा, वीरेन्द्रको वंशनास हुनेगरी भएको
हत्याकाण्डबारे उनका उत्तराधिकारी भएका ज्ञानेन्द्रप्रति आमजनताले ठानेको,
तपाईंले पनि एकपटक रत्नपार्कको आमसभामा भनेको 'भाइमारा, मूर्तिचोर'जस्ता
आरोप आमजनताले मदनका उत्तराधिकारी तपाइर्ंमाथि पनि लगाउन सक्छन् ।
Sunday, January 17, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment