सप्तरीको फत्तेपुर खोरियाटोलका रामु, श्यामु र हेमु तीन दाजुभाइ हुन् । १७ वर्षीय रामु अहिले एसएलसी दिएकाछन् । १४ वर्षीय श्यामु ८ कक्षामा र ९ वर्षीय हेमु ५ कक्षामा पढ्छन् । २०६० भदौ १० गते सङ्कटकाल घोषणा भएकै दिनको एउटा अकल्पनीय घटनाले उनीहरुलाई जीवनभर बिर्सन नसक्ने पीडा दिएको छ । त्यसै बेलादेखि उनीहरु अभिभावकविहीन भएका छन् ।
१७ वर्षीय रामु त्यो दर्दनाक घटना सम्झन चाहँदैनन् । उनी खिन्न हुँदै भन्छन्, ‘त्यो दिन सम्झदा कहाली लागेर आउँछ । भदौ १० गते बिहान पूर्व राजा ज्ञानेन्द्रको सरकारले सङ्कटकाल घोषणा गरेको थियो । सङकटकाल घोषणापछि सेनाहरु सिकार गर्न गाउँ पसे । दिउँसोको करिब ४ बजेको हुँदो हो, राजबिराजबाट आएका बन्दुकधारी सेनाले बुबा राजकुमार भुजेललाई घर नजिकबाट नियन्त्रणमा लिए । गाडीमै राखी घरदेखि उत्तरमा रहेको बीच जङ्गलमा लगे । नजिकै खोलामा पुर्याएर बेस्सरी पिटे, अनुहारमा सियोले रोपेर प्वाल पारे । भयभरको यातना दिए । त्यसपछि निधारमा एसएलआर तेस्र्याएर गोली हाने ।’ पिलपिल आँशु बनाउँदै उनले सुनाए ।
गला अवरुद्ध पार्दै रामुले अझ थपे, ‘आमाले रुँदै-कराउँदै बाबुलाई नमार्नु भन्नुभयो, तर ती राक्षसहरुले आमाको कुरा सुनेनन् । उल्टै बढी बोलिस् भने तेरो पनि चिहान हुन्छ भन्ने धम्की दिए । बुबा रगतको आहालमा डुब्नुभयो । बुबालाई केही नगर्नुहोस्, हामी खान पाउँदैनौं भनेर चिच्यायौं तर उनीहरुले हाम्रा कुरा सुनेनन् ।’ हिन्दी चलचित्रमा देखिने दृष्यमा झैं लाग्ने घटना यी तीन बालकहरुले पाँच वर्षअघि देखेका हुन् । माओवादीमा लागेको आरोपमा बुबाको हत्यापछि आमाको दुःख देखेर उनीहरुलाई विरक्त लाग्ने गरेको छ । घरपरिवार हेर्ने एकमात्र मुलीको हत्या गरिएपछि उनीहरुको जीवन कष्टकर त बनेको छ नै, बुबाको सम्झनाले समेत उनीहरुलाई समय-समयमा सताउने गर्छ । ‘अस्ति आमाले ती दिन सम्झाइदिनुभयो, रातभरि निन्द्रा लागेन ।’ हेमुले भने ।
माओवादी भएका कारण राज्यले उनलाई हत्या गर्यो । माओवादीले सम्पूर्ण क्षतिपूर्ति त दिन सकेको छैन तर केही हदसम्म सहयोग गर्यो होला । त्यो सहयोगले बुबाको वात्सल्य छहारी, मायाममता पक्कै पुर्याउन सकेन । ती अबोध बालकहरुलाई गम्भीर मुद्रामा सधै भेटिने १७ वर्षे जवान रामु राज्यसँगै प्रश्न गर्छन्, ‘मेरा बुबाजस्ता मुलुकमा १५ हजारभन्दा बढी मानिस बलिको बोका भए तर राज्यले के पायो ? त्यसको उपलब्धि खोई ? माओवादीमा लागेको आरोपमा राजकुमारले त ज्यान गुमाए । तर, ती बालक र उनकी आमा निर्मलाको भने के दोष थियो र पीडा अभाव र गरिबीमा जीवन विताइरहनुपर्यो ? उनीहरुका लागि यो राज्यको उपहार नै हो त ? होइन भने बुबा वा पति गुमाएका परिवारलाई राज्य वा माओवादी किन व्यवस्थापन गर्न चासो देखाउँदैन ? वियोगको पीडासँगै अभावमा उनीहरुले कतिञ्जेल बाँच्ने ? अर्का संखुवासभाको मुढे शनिश्चरेका मिङ्माकाजी शेर्पाका परिवार दुःख-सुख पेट पालो गरिरहेका थिए । उनीहरुको गरिखाने खेतबारी थियो । मध्यम किसिमले उनीहरुको परिवार चलेको थियो । परिवार चले पनि देशमा व्याप्त घूसखोरी, भ्रष्टाचार, शासक वर्गको अत्याचार, नातावाद, कृपावाद र प्रजातन्त्रको नाममा ब्रम्हलुटले सीमा नाघेको शेर्पालाई मन परेन । उनको मनमा क्रान्तिकारी भावना जागृत भयो । २०५६ सालतिर आफ्नै जेठा दाजुका छोरा दोर्चेलाई मुढेस्थित प्रहरीहरुले नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेपछि थिचोमिचो कति सहने भनेर एमाले परित्याग गरी उनले माओवादीमा प्रवेश गरेका थिए । उनी अत्याचारी सामन्ती शासनविरुद्ध पुल्ठा समाउन पुगे । त्यो कार्य नै उनको लागि अभिसाप बन्यो ।
माम्लिङ जनसरकार भएको दिन २०६१ कार्तिक १ गते राति सुरक्षा फौजले घरमै मिङ्माकाजीको गोली हानी निर्मम हत्या गर्यो । पार्टीमा सक्रिय भएर लागेका मिङ्माकाजीलाई श्रीमती ङीमा र छोरी लमूको आँखाअगाडि तड्पाई-तड्पाई मारियो । ‘आत्मसमर्पण गर’ भन्दा ‘गोली खान तयार छु तर दुस्मनसँग झुक्दिनँ’ भनेर मिङ्माकाजीले छाती फुलाएपछि उनको हत्या गरियो । बुबा माओवादीमा लागेको भन्दै छोरा पेमसाङ्गे र फुर्दावाले समेत घरमा बसेर पढ्न पाएनन् । सेनाले सधै मानसिक र शारीरिक यातना दिएपछि घर छोड्न बाध्य भए । आफ्ना बाबुको काजकिरिया गर्नसमेत नपाएको पीडा उनीहरुको मानसपटलमा ताजै छ । अब मिङ्माकाजी परिवारमा दुःखदायी स्मृतिमात्र रहेका छन् । ‘सामाजिक रूपान्तरण, वर्गीय संघर्ष र मुक्तिका लागि हामी जुनसुकै युद्धभूमिमा मर्न सक्छौं तर परिवर्तन निश्चित छ’, भन्ने मिठो बोलीमा आफ्ना समर्थकहरुलाई संखुवासभामा प्रशिक्षण दिँदै हिँड्ने मिङ्माकाजीको जीवनलीला समाज रूपान्तरणकै क्रममा समाप्त भयो । उनले जस्तै रूपान्तरणको छाँटकाँट नदेख्दा सप्तरीमा टुहुरा बनेका रामु, श्यामु, हेमु, संखुवासभामा टुहुरा बनेका लमु, पेमसाङ्गे, फुर्दावाहरुको मनमा शान्ति छाउन सकेको छैन । यी त प्रतिनिधि पात्रमात्र हुन् । यस्तो वियोगको पीडा सहँदै बस्ने मुलुकभरि छरिएका छन् ।
पीडालाई छातीभित्र दबाउँदै लमूले भनिन्, ‘मुक्तिका लागि मेरा बाबाले जीवन उत्सर्ग गर्नुभयो । अरु १५ हजार नागरिकहरु यसरी नै मारिए । कयौं अङ्गभङ्ग भएका मुक्तिकामी योद्धाहरु अस्पतालको बेडमा छट्पटाइरहेका छन् । तर, उनीहरुले बगाएको रगतको अवमूल्यन भएको छ ।’ एसएलसी दिएर बसेका रामु बाबुको सपनासँग आम नागरिकहरुको सपना गाँसिएको बताउने उनी सामाजिक विभेद र अन्यायको जड मासिने छाँटकाँट नदेख्दा निराश छन् । वास्तवमा ज्ञानेन्द्रले सत्ता छोडे, गिरिजाले विदा लिए । उनीहरुको ठाउँमा अर्को व्यक्ति पुग्यो । हिजो एउटाले कमिसन खान्थ्यो, भ्रष्टाचार गथ्र्यो । आज अर्कैले कमिसन खान थालेको छ, भ्रष्टाचार गर्न थालेको छ । के यसैलाई रूपान्तरण मान्ने त ? व्यक्ति परिवर्तन भए तर संस्कार, कार्यशैली र नीतिमा परिवर्तन नआउँदा १५ हजार सहिदका परिवार खिन्न भएका छन् । उनीहरु प्रश्न गर्छन्, ‘योग्य व्यक्ति जागिर खान किन अझै घूस खुवाउनुपर्छ ? नातावाद र कृपावादलाई किन डाँडा कटाउन सकिएन ? मान्छे मार्ने कार्य किन रोकिँदैन ? महङ्गी कहिले नियन्त्रण हुन्छ ? जीवन किन सुखमय हुँदैन ?’
आउँदाजाँदा सधैं भेट हुने रामु, हेमु, श्यामुका अनुहारमा यी प्रश्न झल्किएको पाइन्छ । पति गुमाएर एक्लो सङ्घर्ष गरिरहेकी निर्मला भुजेललाई पनि रङ्गमात्र फेरेर पुरानो बोतलको रक्सी नयाँ बोतलमा हालेजस्तो मात्र अहिलेको परिवर्तन महशुस भएको छ । राज्यले सहिद परिवारका लागि अहिलेसम्म केही गर्न सकेको छैन । यिनीहरुको पीडा राज्यले बेलैमा बुझ्न सकेको छैन । परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने र अङ्गभङ्ग हुनेहरुलाई उचित राहतको व्यवस्था गर्नुपर्ने हो तर राज्यले ढिलो गरिरहेको छ । परिवर्तन उनीहरुले महशुस गर्न पाएका छैनन् तर बिहान-बेलुका दुई छाकको मेसो भने राज्यले मिलाउनैपर्छ । होइन भने उनीहरुमा ठूलो अन्याय गरिएको ठहर्छ ।
बुबा गुमाएर सानैमा निकै पाको बनेका रामु राज्यलाई सुझाव दिने भइसकेका छन् । उनले भने, ‘देशमा धेरै मान्छेले परिवर्तनका लागि बलिदान दिएका छन्, परिवर्तनको महशुस उनीहरुलाई गराउनुपर्छ ।’ उनले थपे, ‘काख रित्तिएका, सिउँदो पुछिएका आमाहरु, टुहुरा भएका हामीजस्ता र सहारा गुमाएका असक्तहरुको आँशु र पीडालाई राज्यले सम्बोधन गर्नुपर्छ । दलहरुमा हावी भएका सामन्ती प्रवृत्ति त्यागेर जनताको सेवा गर्न ओर्लिनुपर्छ ।
Friday, October 23, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment