एकजना कलम समात्ने शब्दकर्मी टीका
बिष्टका हात-खुट्टाका औँलामा धारिलो ब्लेडले काटियो । उनीमाथि पहरामा
टाउको ठोक्काएर भीरबाट खसाल्ने हदसम्मको सांघातिक आक्रमण गरियो । ल्यापटप
कम्प्युटर, मोबाइल सेट, एफएम रेडियो, नोटबुक र कलम तोडफोड भए पनि उनी बल्ल
बाँच्न सफल भएकी छिन् । यसरी रुकुमकी पत्रकार बिष्टमाथि अज्ञात नकावधारी
समूहबाट सांघातिक आक्रमण हुनुको अर्थ हो, एकजना पत्रकारमाथि, एकजना
महिलामाथि र एकजना नागरिकमा आक्रमण भयो । यसको मतलब हो, देशमा व्याप्त
राज्यहीनतालाई फेरि पनि छर्लंग्याउनेगरी पत्रकारिता जगत् र अभिव्यक्ति
स्वतन्त्रतामाथि हमला भयो ।
पत्रकार बिष्टमाथि अज्ञात नकावधारी समूहबाट
सांघातिक आक्रमण हुँदा सम्पूर्ण पत्रकार जगत्ले आफँैमाथि सांघातिक आक्रमण
भएको महसुस गर्यो । आक्रमणका कारण जब बिष्ट गम्भीर घाइते भइन्, बेहोस
भइन्, तब सबै शब्दकर्मीले नराम्ररी आहत महसुस गरे । तुरुन्तै उद्धार र
उपचार नगरिएको भए उनको स्थिति तल-माथि पर्ने हदसम्म देखिँदा पत्रकार जगत्
मात्रै होइन, सो समाचार सुन्ने अधिकांश जनता संवेदित भए । वीरेन्द्र
साहदेखि उमा सिंहसम्मको निर्मम हत्याबाट संवेदित भएको जनमन यतिखेर बिष्टको
शीघ्र स्वास्थ्यलाभसँगै राज्यबाट दण्डहीनताको अन्त्यको थालनी खोजिरहेको छ
। र, हामी जनमनलाई अभिव्यक्त गर्न चाहन्छौँ, अभिव्यक्तिका सारा खतरा
उठाउनुपर्छ, अभिव्यक्ति स्वतन्त्रतामाथि झुन्डिएको तरबारलाई निर्मूल
पार्नर्ैपर्छ ।
नेपाली राज्य पत्रकार र आम जनताको सुरक्षा र
अभिव्यक्ति स्वतन्त्रताको मामिलामा बेपत्ता हुँदै आएको छ । राज्यको
उपस्थिति वारदातपछि सर्जमिन गर्न मात्रै चाहिने होइन, वारदात हुनै नदिने र
शान्ति-सुरक्षाको वातावरण बनाउन चाहिने हो । बिष्टमाथि भएको आक्रमणमा पनि
राज्यको उपस्थिति देखिएन, उसको अनुपस्थिति नै वारदातका कारण बन्न गयो ।
तर, वारदातपछि बिष्टको उद्धार र उपचारमा भने राज्यले उपस्थिति देखाएको छ,
जुन सराहनीय छ । उनको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने सुखद
खबर दल-विशेषको घेरोमै सीमित रह्यो भने सराहनाका शब्द सरापमा फेरिन सक्छन्
।
देशमा व्याप्त राज्यहीनताका बीच पत्रकार बिष्टमाथि नकावधारण गर्ने
माओवादी व्यक्तिहरू वा माओवादी मुकुण्डो लगाउने नकावधारी शक्तिमध्ये कसले
आक्रमण गरे, त्यो छानबिनकै प्रक्रियामा छ । तर, सञ्चारमन्त्रीदेखि
प्रधानमन्त्रीसम्म पनि आक्रमणकारी माओवादी नै भएको प्रमाणित गर्न, छानबिन
हुँदा नहुँदै माओवादीमाथि लाञ्छना लगाउन उद्यत् देखिनु दलीय पूर्वाग्रह
मात्रै हुन सक्छ ।
छानबिनका क्रममा यस घटनामा सधैँ हात चिलाउँदै
बस्ने आफ्ना कार्यकर्ताकै हात रहेको पुष्टि भएमा माओवादीले ँयो आक्रमण
पार्टीको नीतिअन्तर्गत भएको होइन’ भन्नेजस्ता सस्ता वक्तव्यका भरमा
पन्छिनु आत्मघाती हुन सक्छ । उसले अब यसरी आपराधिक कार्यमा संलग्न
कार्यकर्ताको परोक्ष रूपमा बचाउ गर्ने र प्रत्यक्ष रूपमा आफैँ नांगिने काम
गर्नुको सट्टा त्यस्ता कार्यकर्तालाई पार्टीगत सजाय र कानुनी कारबाही गर्न
भूमिका खेल्नुपर्छ ।
Sunday, December 13, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment