नेपाललाई तीनतिरबाट घेरेर बसेको भारतले आफ्नो सीमाको सुरक्षाका नाममा नेपाल-भारत सीमामा खडा गरेको भारतीय सीमा सुरक्षा बल (एसएसबी)
सीमावर्ती नेपालीका लागि ज्यादतीको पर्याय बन्न थालेको छ ।
एसएसबीले नेपालका अधिकांश सीमा क्षेत्रका गाउँ, बस्ती र सहरमा असुरक्षा र आतंक नै पैदा गरेको तथ्य दिनदिनै सार्वजनिक हुँदै आएको छ । आफ्नो सीमा सुरक्षाका लागि, सीमाका जनताको हितका लागि अरू देशको सीमा र सीमावर्ती बस्तीका बासिन्दामाथि ज्यादती नै गर्नुपर्ने र आतंक मच्चाएरै तिनलाई तह लगाउने आफ्नो सुनियोजित रणनीति होइन भने भारत सरकारले एसएसबीको ज्यादती र आतंकलाई अविलम्ब रोक्नुपर्छ ।
बेलहिया,
भैरहवामा भएको एसएसबी ज्यादतीको विरोधमा नेपाल र भारतका सीमावर्ती
क्षेत्रमा प्रभावशाली संघर्ष हुँदा भारत सरकारले आतंक मच्चाउने युनिटलाई
नै सार्नुपरेको छ । फेरि पनि कञ्चनपुर र गुलरियामा एसएसबी ज्यादतीले सीमा
नाघ्दा एसएसबीका सुरक्षाकर्मी र नेपाली जनताबीच झडपसमेत भएका छन् । यस्ता
झडपमा संलग्न सुरक्षाकर्मीमाथि कडा कारबाही गर्ने, फेरि-फेरि यस्तो
ज्यादती नहुने व्यवस्था मिलाउने र नेपाली जनतासँग माफी माग्ने काम भारत
सरकारले तुरुन्तै गर्नुपर्छ । यदि ऊ छिमेकी जनताप्रति संवेदनशील छ भने,
छिमेकप्रति सम्मानपूर्ण व्यवहार गर्न चाहन्छ भने उसले यस्तो काम गर्न
कन्जुस्याइँ गर्नु हुन्न ।
तर, भारतवेष्टित देश नेपालका लागि भारत सरकारको व्यवहार भने ँभारत’ शब्दलाई नै चरितार्थ गर्ने खालको रहँदै आएको छ । पूर्व, पश्चिम र दक्षिणबाट घेरिएको नेपालका लागि ँभारत’को वास्तविक अर्थ हो— कठिनाइ,
मुस्किल र हैरानीको स्रोत । जमिनले तीनैतिरबाट घेरिएको नेपाललाई आफ्नो
आर्थिक स्वार्थले मात्रै घेरेर नपुगी उसले राजनीतिक र सामरिक छाताभित्र
पनि राख्ने प्रयास गर्दै आएको तथ्य जगजाहेर नै छ । आफ्नो आर्थिक, राजनीतिक
र सामरिक छाताभित्र राख्न नै उसले नेपालमा जारी राजनीतिक अस्थिरताको मौका
छोपी अनेक हस्तक्षेपकारी हर्कत गर्दै आएको तथ्य पनि कसैबाट लुकेको छैन ।
एएसएसबीको ज्यादती र नेपाली सीमा अतिक्रमणलाई तीव्र पार्दै भारतीय
माओवादीलाई शस्त्र निर्यात गरेको र सीमापार आतंकवादलाई प्रोत्साहित गरेको
आरोप लगाउनु पनि राजनीतिक, सैनिक र प्रशासनिक नेतृत्वलाई कज्याउने उसको
प्रयत्नकै अंग हो कि भन्ने प्रश्न उठेको छ ।
एसएसबीले कहिले अस्त्रसहित नेपाल
पसेर बेलहिया, भैरहवामा नेपाली प्रहरी र गर्भवतीलाई कुट्छ, कहिले
आनन्दनगर, कञ्चनपुरमा हतियारसहित पसेर आतंक मच्चाउँछ त कहिले रत्नपुर,
गुलरियामा बन्दुक देखाएर धम्क्याउँछ अनि उल्टै बन्दुक र गोली लुटेको
आरोपमा नेपालीलाई नै गिरफ्तार गर्न लगाउँछ । नेपालको प्रहरी प्रशासनले पनि
ज्यादती गर्ने र आतंक मच्चाउने एसएसबीका अभियुक्तलाई कारबाही गर्न आँट
गर्दैन, बरु ज्यादतीको प्रतिरोध गर्ने नेपाली युवालाई नै गिरफ्तार गरी
भारतलाई खुसी पार्ने प्रयत्न गर्छ । कहीँकतै नेपालीले एसएसबीको ज्यादती र
आतंकविरुद्ध संघर्ष गरे उसले बीचबचाउको भूमिका खेल्छ र माफी मागेकै भरमा
अभियुक्तलाई क्षमादान दिई क्षमाशीलता पनि प्रदर्शन गर्छ ।
एसएसबीका
बढ्दो ज्यादती र आतंकका बीचमा पनि मौनधारण गरिरहेका हाम्रा राजनीतिक,
सैनिक र प्रशासनिक नेतृत्वको प्रवृत्ति हेर्दा भारतको यस्तो प्रयास सफल
हुँदै गएको प्रतीत हुन्छ । आ-आफ्नो कुर्सीको सुरक्षा र दीर्घायुका लागि
भारतीय शासकवर्गको आशीर्वाद, भरथेग र सहयोग पाएपछि देश र जनताको
सुरक्षालाई रछ्यानमा फ्याँक्ने नेपाली नेतृत्वको राष्ट्रिय प्रवृत्तिमै
भारत सरकारको सफलता पनि निहित रहने देखिन्छ । निःसन्देह, नेपालले छिमेकी
फेर्न सक्दैन, नेपाली नेतृत्वले छिमेकी देशको भौगोलिक अवस्थितिलाई पनि
फेर्न सक्दैन र छिमेकी सरकारको बलमिच्याइँपूर्ण व्यवहार पनि फेर्न सक्दैन
। तर, छिमेकीको बलमिच्याइँको प्रतिरोध गर्न र आतंकको कूटनीतिक प्रतिवाद
गर्न आफ्नो राष्ट्रिय आत्मसमर्पणवादलाई त फेर्न सक्छ नि !
No comments:
Post a Comment