भ्रष्टाचारमा नेपाल गत वर्षभन्दा २२ स्थान तल झर्यो , दक्षिण एसियामा अब
अफगानिस्तानभन्दा मात्र राम्रो
भ्रष्टाचारमा नेपालले रेकर्ड ब्रेक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) ले जर्मनीको बर्लिनमा मंगलबार सार्वजनिक गरेको सन् २००९ को वाषिर्क प्रतिवेदनअनुसार नेपाल इतिहासमै सबैभन्दा भ्रष्ट भएको छ ।
सन् २००९ को प्रतिवेदनअनुसार सबैभन्दा कम भ्रष्टाचार भएको न्युजिल्यान्ड एक नम्बरमा छ भने सबैभन्दा बढी भ्रष्टाचार भएको सोमालिया एक सय ८० औँ नम्बरमा छ ।
यसपालि सबैभन्दा कम भ्रष्टाचार हुने देशका रूपमा दर्ज भएको न्युजिल्यान्डले कुल १० मा ९.४ अंक पाएको छ भने नेपालले २.३ मात्र । नेपालको यति खराब रेकर्ड राजाको शासनकालमा पनि बनेको थिएन । राजाको सक्रिय शासनकालमा नेपालले २००५ र २००६ मा लगातार २.५ अंक पाएको थियो । लोकतन्त्र आएपछिको पहिलो वर्ष सन् २००७ मा पनि नेपालले २.५ अंक पाएको थियो भने गतवर्ष स्थिति सुधारेर २.८ अंक पाएको थियो । तर, यसपालि भने स्थिति सबैभन्दा बिगारेर नेपालले २.३ मात्रै पाएको छ ।
गतवर्षसम्म नेपाल दक्षिण एसियामा पाँचौँ नम्बरमा थियो । तर, यसपालि बंगलादेश र पाकिस्तानले समेत सुधार गरेर नेपालभन्दा माथिल्लो स्थान बनाएका छन् । अब दक्षिण एसियामा अफगानिस्तानभन्दा मात्र नेपालको अवस्था राम्रो छ ।
यसपालि दक्षिण एसियाका सबैभन्दा राम्रो भुटान ४९ औँ, भारत ८४ औँ, श्रीलंका ९७ औँ र पाकिस्तान तथा बंगलादेश एक सय ३९ औँ स्थानमा छन् । १.३ अंकका साथ अफगानिस्तान एक सय ७९ औँ स्थानमा छ ।
शाहवंशीय राजतन्त्र फालेर गणतन्त्र स्थापना भए पनि नेपालमा भ्रष्टाचार भने कम हुन नसकेको ठहर टिआईले गरेको छ । 'गणतन्त्र स्थापना भयो, देश तुलनात्मक रूपले शान्त पनि भएको छ, तर भ्रष्टाचारको चुनौती भने नेपालमा थप बढेको छ,' प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदनअनुसार बंगलादेश, जापान, टोंगा एन्ड बनौटुले यसवर्ष भ्रष्टाचार कम गरेर धेरै राम्रो उदाहरण बनाएका छन् । भ्रष्टाचार बढाएर रेकर्ड बिगार्नेमा नेपालका अतिरिक्त मलेसिया, द माल्दिभ्स र अफगानिस्तान छन् । टिआईले विभिन्न १३ वटा शीर्षकमा सर्भे गरेर प्रतिवेदन बनाएको जनाएको छ ।
No comments:
Post a Comment