Monday, November 9, 2009

माओवादीलाई प्रधानसेनापती कटुवालको गुन


माओवादी-नेपाली सेना एक-आपसमा नलडेको र राजतन्त्र वा राजा नरहेको स्थितिलाई छाडिदिने हो भने वर्तमान नेपाल दिल्ली सम्झौता (७ पार्टी र माओवादी विच भएको सम्झौता) भन्दा ठीक अगाडिको स्थितिमा पुगेको छ। माओवादीले मागेको वा खोजेको गणतन्त्र र संविधान सभाको निर्वाचन भइसकेको छ भने अन्य पार्टीहरूले खोजेको सत्ता उनीहरूलाई प्राप्त भइसकेको छ। यदि, “माओवादीले कम्युनिष्ट सर्वसत्तावाद लागू गर्न खोजेको” “सत्यता” वा “आरोप”लाई थाति राखेर वर्तमान घटनाक्रमलाई हेर्ने हो भने माओवादी बाहेकका पार्टीहरूलाई सत्तामा जानका लागि तगारो बन्दै आइरहने राजसत्ताको अन्त्यपछि पार्टीहरू ढुक्क देखिएका छन्।उनीहरूका हातमा सत्ता आएको छ र अब त्यो सत्ता खोस्न सक्ने तागत कसैमा छैन।उनीहरूको सत्ता हल्लाउन सक्ने एउटै शक्ति माओवादी मात्र बाँकी रहेको छ त्यसैले पार्टीहरूका लागि माओवादी शक्ति परास्त हुन जरूरी छ भने माओवादीलाई पनि राजतन्त्रको अवसानपछि पार्टीहरू परास्त हुन जरूरी देखिएको छ।वर्तमान चलखेल यसैको परिणति मात्र हो।


हिजो माओवादीका विरूद्ध लड्ने सबै पार्टीहरू अहिले एकै ठाउँमा छन्। राप्रपा, एमाले, काङ्ग्रेस, सद्‌भावना, तमलोपा वा अन्य कुनै पनि पार्टीहरू यस्ता छैनन् जसले हिजोका दिनमा माओवादीप्रति सहानुभुति राख्थे र माओवादीको नजिक थिए। त्यसैले विगतको त्यो परम्परा वर्तमानमा पनि देखिनु कुनै नयाँ कुरा होइन।पार्टीहरूलाई माओवादीविरूद्ध लड्ने बेलामा साथ नदिने राजा र राजतन्त्र राजनीतिक रङ्गमञ्चबाट बाहिरिएको छ भने पार्टीहरूका विरूद्धमा माओवादीसँग मिलेर अगाडि बढ्न नसकेपछि राजा र राजतन्त्र माओवादीका लागि आवश्यक पर्ने कुरा भएन। दुवै पक्षको स्वार्थमा राजा र राजतन्त्रको अन्त्य भयो।यसक्रममा राजा र राजतन्त्रको दोष सबैभन्दा बढी देखिए पनि पार्टीहरू र माओवादी मध्ये कुनै एकपक्षको स्वार्थ राजतन्त्रसँग नबाझिएको भए राजतन्त्रको अन्त्य हुने थिएन। समग्रमा त्रीपक्षीय सत्ता खोसा-खोसको स्थितिबाट अब दुई पक्षका माझ झगडा शुरू भएको छ। त्यसैले माओवादी र अन्य दलहरू एक आपसमा सत्ता संघर्षमा अगाडि देखिएका छन्। यो सत्ता संघर्षले समग्रमा देशलाई कुनै ठूलो हानी छैन।त्यसो त फाइदा पनि पक्कै हुने छैन। हिजोको स्थिति जे थियो अब पनि त्यही नै रहनेछ।

शान्ति प्रकृया भाँडिने, माओवादी जङ्गल पस्ने र सेना परिचालन हुने हल्ला शहरमा सुनिन्छ तर यी सबै कुरा हौवा मात्र हुन्।जङ्गल पस्ने र बस्ने सामर्थ्य माओवादीमा छैन र उनीहरू जङ्गल पस्न कुनै पनि हालतमा सक्दैनन्।बरू नेपालीहरू साँच्चै अभागी ठहरिए भने माओवादीको एउटा हिस्सा जङ्गल पस्न सक्छन् जुन ठूलो दुर्घटना हुन सक्छ।यदि यस्तो भयो भने १० वर्षको माओवादी युद्धमा लगभग “नियन्त्रित लडाईँ” लडेको माओवादीको लडाईँ अनियन्त्रित हुनेछ र त्यसले अझ ठूलो दुर्घटना निम्त्याउनेछ।१० वर्षको युद्धमा भन्दा वेशी मानिसहरू मर्नेछन् र धन-जनको पनि व्यापक क्षति हुनेछ।देशको राष्ट्रिय, अखण्डता र सार्वभौमसत्तामा पनि खतरा आइलाग्नेछ।
माओवादीले पार्टीहरू फुटालेर आफू बलियो हुन खोजे जस्तै राजनीतिक पार्टीका कतिपय व्यक्तिहरू माओवादी पार्टीमा विग्रह भएको देख्‍न त चाहन्छन् तर पार्टी विग्रह पछि कार्यकर्ता राजनीतिबाट पलायन नभएर जङ्गल छिरे भने त्यसको परिणाम भयावह हुनेछ। शायद यसको एउटा नमुना मातृका यादवको पार्टीले विद्रोह शुरू गर्‍यो भने देखिने नै छ। अर्को तर्फ पार्टीहरूले सेना परिचालन गरे भने केही समय सेनाले पार्टीहरूलाई सघाए पनि अन्तत: पार्टीहरू सेनाको नियन्त्रणमै हुनेछन् त्यसैले केही उरन्ठेउला मन्त्रीहरू वा सेनाको नजिक रहनेले यस्ता कुरा भने पनि सेनाको प्रयोग हुने सम्भावना न्यून छ। राष्ट्रपति शासनको हल्ला पनि नचलेको होइन तर यसबाट निस्कने दुष्परिणामका वारेमा कांग्रेस वा एमालेका केही नेताहरू पक्कै पनि सचेत होलान्।
कथंकदाचित सेनाको प्रयोग भयो भने एमाले वा काङ्ग्रेसका जिल्ला स्थित कार्यकर्ताले अर्को दुर्गति बेहोर्नुपर्नेछ।जति नै युथफोर्स र तरूण दलका गफ हाँके पनि गाउँ-घर कब्जा गर्ने र अन्य पार्टीका सदस्यलाई दु:ख दिने काम माओवादी कार्यकर्ताले नै जानेका छन् र यस मामलामा उनीहरूसँग विगतदेखिको अनुभव छ।
यस बाहेक जिल्ला र गाउँको संरचनामा माओवादी जसरी छिरेका छन् र उनीहरूको जुन सकृयता छ त्यो २०४७ सालतिरको एमालेको भन्दा कैयौं गुना बढी छ र त्यो अझ २-४ वर्षसम्म कायम नै रहनेछ।काठमाडौंबाट प्रकाशित हुने पत्रिका र बुद्धिजिवीहरूले जति लेखे पनि र फलाके पनि “माओवादीलाई काम गर्न नदिएको” र “हारेकाहरूले सरकारको नेतृत्व गरेको” तथा “माओवादीलाई बाहिर पठाएर राजनीतिक दलहरूले हिजोजस्तै सत्ताको लागि लडिरहेको” भन्‍ने “हल्ला” माओवादीले गाउँ-गाउँ सम्म पुर्‍याएको छ। “सत्ताका लागि सबैभन्दा ठूलो मन्त्रीमण्डल बनाएको” तथा “सुजाता र माधव नेपालले चुनाव हारे पनि सरकारमा रहेको” कुरा माओवादी कार्यकर्ताले गाउँ-गाउँमा राम्रोसँग पुर्‍याएकै छन् र गाउँका जनतलाई त्यसले प्रभावित पार्न खोजेका छन्। एमाले तथा काङ्ग्रेस कार्यकर्ताले “माओवादीले सत्ता कब्जा गर्न लागेको कारणले हामीले यस्तो गरेको” भनेर सफाई दिन त सक्लान् तर आम जनता माओवादीले सत्ता कब्जा गर्नु र एमाले तथा काङ्ग्रेसले सत्तामा हालीमुहाली चलाउनुमा कुनै फरक ठान्दैनन्।उनीहरूका लागि जो सत्तामा गए पनि वा जसले कब्जा गरे पनि केही फरक छैन।शहरमा बस्ने केही पढैयाहरू तथा राजनीतिक कार्यकर्तालाई मात्र यस्ता “कब्जा”का कुराले झस्काउँछ, आम नेपालीलाई होइन।
उनीहरूले दैनिक रोजी-रोटीको कुरा गर्छन् जसका लागि कुनै पनि सरकारले तुरुन्तै केही गर्न नसके पनि माओवादीले “आफूलाई गर्न नदिएको कुरा” भने बारम्बार दोहोर्याइरहेका छन् र दोहोर्याइरहने छन्।
सत्तामा हुँदासम्म माओवादी जुन गतिमा पतन भइरहेको थियो त्यो पतनबाट पार्टीहरूले ऊसलाई बचाइदिएका छन् त्यसका लागि माओवादीले रूकमांगत कटुवाल, राष्ट्रपति डा. यादव र अन्य पार्टीलाई धन्यवाद दिनु नै पर्छ।मेरो अनुभवमा काठमाडौंका रेडियो, पत्रपत्रिका वा बौद्धिक प्रवचनले “माओवादीलाई काम गर्न नदिएको” भनेर गरिएको “प्रोपोगाण्डा”लाई कुनै हालतमा चिर्न सक्दैन।“काग कराउँदै गर्छ, हात्ती लम्कदै गर्छ, भने जस्तै माओवादीले काठमाडौंमा बसेर राजनीति गर्ने र विश्लेषण गर्नेहरूलाई फेरि लोप्पा खुवाउनेवाला छ। यसमा कुनै शंका छैन।

1 comment:

  1. माओवादीलाई प्रधानसेनापती कटुवालको गुनलाई धन्यवाद दिनु नै पर्छ..

    ReplyDelete