कतिलाई थाहा भएर बिगि्रएको छ, अति खति भएको छ भने कतिलाई थाहा नपाउँदा लाटो तागत बनेको छ । सामनेको खतरालाई पनि ऊ सामान्य त हो नि भनेर पर्गेल्दिन्छ । अहिले कतिपय उपबुज्रुकहरु देखिएका छन् भने कतिपय लाटोसीधा देखिएका छन् । दुबैबाट अहिलेको देश पीडामा परेको छ । अवस्था मुठभेडतिर डोरिदैछ तर हामी भने घर जल्न लाग्दा पनि मौन बस्नसक्छौँ । कतिपय मान्छेहरु समस्याको निकास कसरी निकाल्ने र आफनो भूमिका के हुने भन्दा पनि सोच्ने काम अरुको हो, आफू त आज्ञापालकमात्रै हुँ भनी सोच्दैछन् भने अर्कोतिर लाटोसीधाचाहिँ जे हुन्छ हामीलाई केको वास्ता भनेर कानमा तेल हालेर बसेको छ । अर्काेतर्फ अब यो देशमा केही हुन सक्दैन भनेर विदेश भासिने थुप्रै व्यक्तिहरुका लागि बाँचे मेरो पोइ, मरे सासूको छोराझैँ रमिता हेर्नु, उपदेश झाड्नु अथवा बग्दो खोलामा हात धुनुसिवाय अरु केही भएको छैन ।
नेपालीहरुले धेरै दिनसम्म मूर्दाशान्तिको अभ्यास गरे र यसैमा अभ्यस्त हून् भन्ने अहिलेपनि धेरैको कामना छ । रैतीबाट जनतामा नहुर्केको मानसिकता चाहे प्रजातन्त्रको नारा लागाओस्, चाहे गणतन्त्र र जनवादको, चाहे सुटमा टाई कस्दै तिलकधारी किन नबनेको होस्- आधुनिकता भनेको लवाइखुवाइमा होइन, आचार, विचार र व्यवहारमा देखिने कुरा हुन् । अर्कालाई दिने उपदेश आफैलाई परेपछिको हविगत कस्तो हुँदोरहेछ भन्ने बहादुरहरु अहिले नदेखिएका होइनन् । घायल इतिहास मर्मान्त छ नै.
हाम्रा गाउँका साहुबालाई उहिले गाउँमा मोटर आउँछ भन्ने पत्यार थिएन । कर्मले गर्दा र पुर्खाको कमाइमा साहु बनेका र धानिएका थिए उनी । चाइनिजहरुले बाटो खने, गाउँका लाटासीधा कुल्ली बने । टाठाबाठा नाइके, फोरम्यान र उपरसेठसम्म बने । पहिलो कुरा बाटै आउँदैन, देवीको थानबाट छिचोल्नै सक्दैन, वनझाँक्री र सुनझाँक्रीले सबैको कन्तबिजोग पार्छ, त्यो पाप गरे म्लेक्ष (चाइनिजहरु)को वंशनाश हुन्छ, रगत छादेर मर्छन् भनेर धेरैले भने । केही मान्छेहरुले पत्याए, काममा गएनन् । बाटो खनियो तब उनीहरु भन्नथाले- बाटो त म्लेक्षले खन्यो तर मोटर गाडी भने पक्कै आउँदैन । आएपनि लड्छ, गुल्टन्छ । केहीले होला त भने । पहिलाका डम्फोर र टडकमा चढ्ने आँट भएन कसैको । गाउँका टाठाबाठा उनै थिए । भगवानको दया उनैमाथि थियो, तब न उनी धनी बनेका थिए । समय बित्दै गयो । गाडीमात्रै चलेनन्, मूलबाटोबाट आधुनिकता पनि गाउँमा भित्रियो । भत्तपुरेहरुको तरकारी बारी बेडाएर तिउन झान्ने भमरकोटे, पाचँखालेहरु आफै अहिले उपत्यकालाई तरकारीको मुख्य आपूर्तिकर्ता बने । तर, साहुबा घरघरमा रङ्गीन टेलिभिजन पुगेको, टेलिफोनमा गफ गरेको, देउताले गर्न नसकेको अस्पतालले मान्छे बचाएको, टोलटोलकै केटाहरु म्लेक्षका देशमा गएर नाम, मान र दाम कमाएर गाउँमा आएको, पठाएको हेर्न भने बाँचेनन् । जात जाला भनेर चाइनाले काफले डिहीमा देखाउने सिनिमा हेर्न उनी कहिल्यै गएनन् । साहुबाले नचाहँदा पनि गाउँमा बाटो र आधुनिकता सबै पुग्यो ।
पुरानामा बाँच्न बानी परिसकेकाका लागि हरेक नयाँ कुरा असहज बन्छ- धर्मकर्मको विरोधी मानिन्छ, परम्पराको शत्रु सोचिन्छ र क्रमशः बानी परेपछि त्यही कुरा अत्यन्तै सहज मान्न थालिन्छ र कहिले त्यो जीवन पद्धतिमा ढालियो, त्यो कुरा स्वयंले पत्तै पाउँदैन । आधुनिकता र प्रगतिशीलता मानिसको जीवनमा घुसेको कुरा मान्छे स्वयंले पत्तै पाउँदैन । जे कुराको ऊ विरोधी बन्थ्यो, त्यही कुरामा ऊ बानी परिसकेको हुन्छ- भोटो कछाडमा रमाउनेहरु पाइण्ट सर्टमा अभ्यस्त भएझैँ ।
जनयुद्ध बेगमय अवस्थामा थियो । संसदीय सहमतिमा देउवा सरकारले सङ्कटकाल लगाएको थियो । देशलाई जेल र जनतालाई बन्दी बनाउदै कर्फ्युको मुनि मूर्दाशान्तिमा बाँच्न अभ्यास गराइँदै थियो । सैन्य परेडकै बीचमा म एकजना आफन्त विद्वान वकिलको घरमा आश्रय लिन पुगेँ । उनको राजनैतिक परिचय र औकात ठूलै थियो, कानुनी कम्युनिष्ट थिए- अहिलेको सरकारी कम्युनिष्टका उपल्ला दर्जाकै । भन्न थाले- "बेकारमा संविधानसभा र गणतन्त्रका कुरा गर्नुहुन्छ, त्यो कहिल्यै पनि सम्भव नहुने कुरा । यो मूर्खताले आफूलाई पनि दुःख, आफन्तलाई पनि दुःख ।" कसैगरी रात काटेर बाहिरिएँ
दिन बिते, समयले कोल्टे फेर्यो । असम्भव सम्भवमा फेरियो । गाउँका साहुबाले आधुनिकताको भरपुर उपभोग त गर्न त्यति पाएनन् । घुगँेचौर अस्पताल गाडीमा नै ल्याइयो, औषधि खाए, पानी चढाइयो, पछि बिते । तर, विद्वान वकिल साहब कहिल्यै नआउने भनिएको गणतन्त्रको अंशियार र सामान्य उपभोत्तामात्रै होइन, सुविधासमेत उपभोग गर्ने भाग्यमानीसमेत हुनुभयो ।
वकिल साहब र साहुबा दुईजना फरक समय, परिवेश र चिन्तनधारका प्रतिनिधिपात्र हुन् । उहाँहरु समयको गति बुझनुभन्दा पनि आफ्ना मान्यताले नै परिस्थिति हाँकिन्छ भन्ने कुरामा विश्वास गर्नुहुन्थ्यो । त्यसको सीमाङ्कन तोड्न नचाहेकाले एकजना जानेर पनि अञ्जान बन्नुभयो भने अर्काको अज्ञानता नै उहाँलाई भ्रमित तागत बन्यो । उहाँले थाहा नपाई विज्ञानको उपलब्धि र आधुनिकता उपभोग गर्नुभयो । हामीलाई थाहा छैन, थाहा पाउन चाहँदैनौँ भन्दैमा सामाजिक नियमको गति न त धीमा हुन्छ, न त रोकिन्छ नै । त्यो आफ्नै गतिमा गतिशील भई नै रहन्छ ।
नेपालमा धेरैको कल्पनाबाहिरका घटनाहरु भए । राजतन्त्र ढल्यो, सङ्घीय लोकतान्त्रिक धर्मनिरपेक्ष गणतन्त्र नेपालको वैधानिक धोषणा भयो । यसलाई आफ्नै मौलिकतामा ढाल्ने अभ्यास संविधानसभाले गर्दैछ । अग्रगमन, शान्ति र विकासका प्रतिबद्धता भए । सर्वोच्च संसदको व्यवस्थालाई हामीले आदर्शका रुपमा स्वीकार गर्यौँ । तर, त्यो व्यवहारमा उत्रिने बेलामा हामी कति सफल र इमान्दार बन्यौँ ? के हामीले तिनै पुराना आग्रहले लतारियौँ अथवा जसको विरुद्ध हामी लागेका थियौँ, त्यसैका मतियार बन्दैछौँ ? अहिले प्रश्न उठिराखेको छ ।
अहिले आग्रहले गर्दा गतिशीलता स्वीकार्न कतिपयलाई गाह्रो भएको छ । अर्काको नाराले कार्यान्वयन भयो भने त्यसको जस पनि उसैलाई जाला भन्ने आतङ्क छाएको देखिन्छ । भारतीय पत्रकार मुकेशको भनाइ नेपालको सन्दर्भमा पनि ठीकै हो- "जहाँ र जहिलेपनि जब कुनै नयाँ विषयले स्थान ओगट्छ, तब त्यसलाई पहिला वास्ता नै गरिँदैन, जब त्यो वास्ता नगरिरहन सकिदैन, बहसबाट खारेज गर्न सकिदैन, तब त्यसलाई ठट्टाको विषय बनाइन्छ र विरोधका अनेक कला प्रयोग गरिन्छ । कालान्तरमा जब त्यसलाई अस्वीकार गर्नै सकिँदैन, तब मनमार्दै स्वीकारिन्छ र मजबुरी भनिन्छ । र, केही समय बितेपछि त्यो जीवनशैली बन्न पुग्छ ।"
आधुनिकतालाई अस्वीकार गर्दापनि साहुबा क्रमशः जसरी त्यतै ढालिनुभयो, त्यस्तै वकिल साहेबजस्ता अनेकौँ जनहरु अहिले गणतन्त्रका देखावटी नै भएपनि प्रवक्ता बनेका छन् ।
अहिले नेपालमा अग्रगमन कि यथास्थिति भन्नेबारे घनिभूत बहस चल्नुपर्ने हो । आन्दोलन माओवादीले गरेको छ तर त्यसलाई उसको सत्तालिप्साको प्रश्नमात्रै भनेर कतिले बहसबाट छलिदै, विषयको गम्भीरतामा प्रवेशै नगर्दै उम्कन चाहेका छन् भने कतिपय उपबुजु्रकहरु तर्कका खेल गर्दैछन् । अर्कातर्फ देशमा भइराखेको यो गतिविधिबाट आफूलाई टाढा राख्ने र रमिता हेर्ने पनि विदेशिएका छन् । अहिलेको अवस्थामा नजान्ने हाम्रा साहुबाभन्दा जान्ने, बुझ्ने तर बुझ पचाउने र आग्रह भजाउने मेरा आफन्त विद्वान वकिलहरुको आसपास रहनेहरु समस्याका विषय हुन् । कवि निकरले भनेझैँ आन्दोलनमा कोही कतै तटस्थ हुन पाउँदैन, एउटा कित्ता रोजेको हुन्छ या समयले हुत्याइदिएको हुन्छ । अझ समयले नजानेको वा थाहा नपाएको भनेर कसलाई पो माफ गर्छ र ! न थाहा नपाउँदै बित्ने मेरा साहुबालाई दियो, न त नयाँ परिस्थितिको कल्पनामात्रै नगर्ने होइन कि अभियन्ताहरुको पनि मजाक उडाउने मेरा आफन्त विद्वानलाई नै !
Saturday, November 7, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment