Wednesday, November 4, 2009

हाम्रा नेताहरुलाई भारत धाउँदै ठिक्क


नेपालमा केही खिसिक्क हुन पाएको छैन आइहाल्छ दूत उतैबाट। राजनीतिमा अलिअलि चलखेल र हल्ला हुन थाल्या हुन्छ, निर्देशनका लागि बोलाइहाल्छन् नेताहरुलाई उतैबाट। २००७ सालको आन्दोलनमा राजालाई शरण दिन होस् कि ६२/६३ सालको राजा धपाउने आन्दोलन होस्. ऊ नभइ भाको थिएन। उसको राजदूतले हाम्रा प्रधानमन्त्रीको निवासमा बेरोकटोक प्रवेश पाउँछ। उसकै राजदूतको हैसियत यहाँ उसको देशको प्रान्तको मुख्यमन्त्री जस्तो हुन्छ। उसकै समर्थनमा लेख्‍ने पत्रपत्रिका हुन्छन्। उसकै विरोधको नाटक रचेर नेताहरु सत्तामा पुग्छन् अनि त्यसपछि उसलाई नै साष्टाङ्ग दण्डवत गर्छन्।
देशमा अहिले राजनीतिक स्थिति बिग्रिएको छ। अनि यही मौकामा उसैले नेताहरुलाई बोलाउँदै धमाधम निर्देशन दिँदैछ। त्यही भएर त होला, भारत सरकारको निमन्त्रणामा (शब्द यही राखिएको छ, हामीलाई झुक्याउन निर्देशन नभनिएको होला) सत्तारुढ एमालेका अध्यक्ष झलनाथ खनाल भारत जाँदैछन् एक साताका लागि।
उनी फर्केपछि उनलाई कस्तो निर्देशन दिइएको छ, त्यसबाट थाहा हुन्छ अब नेपालमा कस्तो राजनीतिक परिवर्तन आउँदैछ ? सरकार ढल्छ कि ढल्दैन ? तीतो लागे पनि सत्‍य यही हो। आफूलाई बाइपास गरेर दुई ठाउँबाट हारेका माधवकुमार नेपाल प्रधानमन्त्री बनेको कुरा मनभित्र लिइरहेका खनाललाई प्रधानमन्त्री बनाउने पाशा माओवादीले फ्याँक्न खोजिरहेको छ। खनाल आफैले पनि सार्वजनिक समारोहमा त्यस्तो प्रस्ताव आइसकेको बताइसकेका छन्। सरकारलाई अप्ठेरो पर्ने खालका अभिव्यक्ति उनीबाट कहिलेकाहीँ आउने गर्छ। यस्तो अवस्थामा भारतले त्यसै निमन्त्रणा गर्न उनलाई त्यहाँ बोलाएको हैन। त्यहाँ निर्देशनै दिइने हो, अर्को शब्दमा दबाब दिने हो। कस्तो किसिमको व्यवहार उनीहरुले गर्छन्, त्यो थाहा पाउन त भविष्यमा उनीहरुले इमान्दार भएर आत्मकथा लेखे मात्र थाहा पाइन्छ। भारतको व्यवहारका बारेमा अनुमान लगाउन भने वीपी कोइरालाको आत्मकथा हेरे हुन्छ। अहिलेका नेताहरुलाई पनि त्यस्तै वा त्योभन्दा तल्लो स्तरको व्यवहार हुन्छ कि !

खनाल त्यहाँ जानेछन्, अनि भेटघाट गर्नेछन्। फर्केको केही दिनपछि नेपाली राजनीतिमा देखिनेछ। त्यही नै भारतको प्रभाव हुन्छ
खनालमात्र हैन, मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव पनि भारत जाँदैछन्। फोरम फुटाएका उपप्रधानमन्त्री गच्छदार भारतनिकट भएपछि हैन हो, हामी तपाईँका विरोधी हैनौँ भनेर आश्वस्त पार्ने काम यादवको हुनसक्छ। फोरमले पनि माओवादीले झैँ आन्दोलनको चेतावनी दिएको छ।
यसै साता निस्क्रिय उपराष्ट्रपति परमानन्द झा पनि भारत गएर फर्किए। नेपाली भाषामा शपथ नलिएपछि सर्वोच्चको आदेश अनुसार पद निस्क्रिय भएको लामो समयसम्म कसैले बाल नदिएपछि अहिले एक्कासी उनको भाषणबाजी सुरु हुन थालेको छ। तराईतिर उनको सक्रियता बढेको छ। आज त एउटा त्यतैको क्षेत्रीय पार्टीले झाको समर्थनमा जनकपुर बन्द गर्ने वक्तव्यसमेत पठाएको थियो।


केही साता यताका घटना हेर्ने हो भने तीर्थयात्रा गए सरह भारत जाने नेताहरुको ताँती देख्‍न सकिन्छ। सूर्यबहादुर थापा गए। फर्केर भारत यही सरकारको पक्षमा छ भनेर प्रमलाई भेटी सन्देश सुनाए उताको। अनि दशैँताका काँग्रेस नेता शेरबहादुर देउवा पनि भारत गए। निजी भनिए पनि त्यो भ्रमणमा उनले सबै भारतका नेताहरुलाई भेटे। उनले भेटेका हुन् कि उनलाई भेटेका हुन्। मिलाएर बुझौँ शब्द चाहिँ। अझ चीनबाट फर्केर प्रचण्ड पनि उतै जाने रे भन्ने हल्ला सुनिएको थियो।

ल अब जो नेता पनि उता नगई केही नहुने रहेछ। जे गरे पनि उही नभई नहुने रहेछ। यी नेताहरुले त उसकै भारत महान् क्यार्नु त नि भन्ने होलान् हगि !

No comments:

Post a Comment